प्रदेश न. ५ अन्तर्गत अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीका एक पहाडी गाउँपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अर्घाखाँची जिल्लामा साविकका अर्घातोसको (१,६-९), मरेङको (१-६), खन, खनदह, बाँगी, हंशपूर र गोखुङ्गा गाउँ विकास समितिहरुलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । मालारानी गाउँपालिकाको कूल जनसंख्या २८,०४४ रहेको छ । यसको क्षेत्रफल १०१.०६ बर्ग किलोमिटर रहेको छ ।यस गाउँपालिकाको केन्द्र साविकको खनदह गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ९ वडामा बिभाजन गरिएको छ ।
यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्युठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिका सम्म फैलिएको छ । ५ न. प्रदेशमा अबस्थित यस मालारानी गाउँपालिका पर्यटकिय हिसाबले सम्भावना बोकेको स्थानीय तह मानिन्छ ।